काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमानचालकलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनिषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो ।

गत ९ साउन बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौंबाट पोखरा जान लागेको उक्त विमान उड्नेबित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।