काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले दूषित मनसायका साथ आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको गुनासो गरेका छन्। सार्वजनिक खपत र आफू चर्चामा आउनका लागि मात्र उनले उजुरी दिएको घिसिङको आरोप छ।
उनले एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नाविरुद्ध सुनियोजितरूपमा दूषित मनसायका साथ सामाजिक सञ्जालमार्फत् विवरण सार्वजनिक गरेको र सोही आधारमा विभिन्न सञ्चार माध्यममा समाचार आएको भन्दै दुःख व्यक्त गरेका छन्।
सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका कामकारबाही सार्वजनिक चासो र निगरानीमा हुने भएकाले आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक राख्ने भए पनि उजुरी दर्ता गर्नासाथ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर खरेलले चर्चामा आउन खोजेको घिसिङको विज्ञप्तिमा उल्लेख छ।
‘निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आपूm चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निज खरेलबाट निहित स्वार्थका साथ यस्ता कामहरू भइरहेका थिए र छन्।’
प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएका केही स्वार्थ समूह पहिलेबाटै सक्रिय रहेको र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएकाहरू अहिले आफूलाई थप कमजोर बनाउन र मनोबल गिराउन सुनियोजित रूपमा लागेको पनि घिसिङको भनाइ छ।
‘प्रचलित सार्वजनिक खरिद कानुनबमोजिम गरिएका खरिद सम्झौताहरु, विद्युत खरिद बिक्री सम्झौता (पीपीए) र अन्य कतिपय असान्दर्भिक विषयलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ।