काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारणसभालाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कोभिड महामारी र रुस–युक्रेन युद्धपछि विश्वका अन्य देशहरूजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यति नै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो । हामी नेतृत्वमा आएपछिको करिब डेढ वर्ष हामीले यसरी काम गर्यौँ कि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन् ।’ उनले भने ।
महासंघले नै आममानिसमा देखिएको निराशाको अवस्था चिर्नका लागि सरकारसँगको सहकार्यमा कामको थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरूको सुरुआत गरेर सरकारलाई दबाब दिएको र त्यसैको परिणामस्वरूप अहिले सकारात्मक परिणामहरू देखिएको अध्यक्ष ढकालको दाबी छ।
महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेका भन्दा फरक रहेको पनि उनको भनाइ छ । उनले भने, ‘पहिले दाताले प्रतिबद्धता गरेबमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुनहरू नै बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौँ । सरकारलाई दबाब पनि दियौँ । हाम्रो समेत सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठवटा कानुन संशोधन पनि भए । हामीलाई लाग्छ, अब दातालाई प्रतिबद्धताअनुसारको लगानी ल्याउन सहजीकरण हुनेछ ।’ यी कानुन संशोधनका क्रममा नेपालका राजनीतिक पार्टीहरूमा आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उनले बताए ।