काठमाडौँ । इजरायली सेनाले आफ्नो कब्जामा रहेको ‘वेस्ट ब्यांक’ को रमल्लामा रहेको अल जजीरा टेलिभिजन च्यानलको कार्यालयमा हतियारसहित छापा मारेको छ । इजरायली सेनाले ४५ दिन टेलिभिजन बन्द गर्न समेत आदेश दिएको छ ।
कतारको दोहामा मुख्यालय रहेको अल जजीराको रमल्लास्थित कार्यालय बन्द गर्न इजरायली सेनाले आदेश दिएको हो ।
इजरायली सेनाले बन्द गर्नुको कारण भने नखुलाएको अल जजीराले जनाएको छ । केही समय पहिले अल जजीरालाई इजरायलमा रिपोर्टिङ गर्न प्रतिबन्ध लगाइएको थियो । त्यसलगत्तै वेस्ट ब्यांकस्थित कार्यालय बन्द गर्न इजरायली सेनाले आदेश दिएको हो ।
गत मे महिनामा इजरायली सरकारले इजरायलमा अल जजीराको प्रत्यक्ष प्रसारणमाथि समेत रोक लगाएको थियो । सुरुमा ४५ जना दिनका लागि बन्द भने पनि इजरायलमा अल जजीराका पत्रकारले अहिले पनि रिपोर्टिङ गर्न पाएका छैनन् । गत वर्षको अक्टोबरदेखि चलिरहेको इजरायल-हमास युद्धमा पत्रकारहरू चपेटामा परेका छन् ।