काठमाडौं । सहकारी ठगी प्रकरणका फरार अभियुक्त गोर्खा मिडियाका कार्यकारी अध्यक्ष जीबी राईका साझेदार पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी पूर्वगृहमन्त्री रवी लामिछानेका पनि साझेदार हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई आज पक्राउ गरेको हो ।
यसअघि, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानून अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।
सिफारिसमा परेकामध्ये राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी छ भने रम्तेल पुर्पक्षका लागि थुनामा छन् ।
बाँकी रहेका जोशी र लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लेखेको पत्र समेतका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जरुरी पूर्जी थमाएर जोशीलाई नियन्त्रणमा लिएको हो । उनलाई पोखरा पठाउने तयारी गरिएको छ ।

