छात्रबृत्तिदेखि पाठ्यपुस्तकसम्म खरिद अनियमितताः प्रअसहितलाई भ्रष्टाचार मुद्दा

काठमाडौँ । सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्रअ) सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुमाथि भौतिक संरचना निर्माण, छात्रबृत्ति रकम र पाठ्यपुस्तक खरिदमा अनियमितता गरेको आरोप छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंकर माध्यमिक विद्यालय बरमझिया, सप्तरीका प्रधानाध्यापक दिलिपकुमार गुप्ता, शिक्षक हृदयराम चौधरी र विद्यालयका कर्मचारी श्रवणकुमार चौधरीबिरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रअ गुप्ताविरुद्ध ६ लाख ४९ हजार ९ सय १६ रुपैया बिगो कायम गरी बिगो बमोजिम जरिवाना र हिनामिना भएको बिगो बमोजिमको रकम निजबाट असुलउपर गर्नुपर्ने माग दाबी गरिएको छ ।

त्यस्तै शिक्षक हृदयराम चौधरीविरुद्ध ६२ हजार ५ सय ८३ रुपैयाँ र कर्मचारी श्रवणकुमार चौधरीविरुद्ध ५ लाख ८७ हजार ३ सय ३३ रुपैया बिगो कायम गरी मुद्दमा दायर भएको हो ।

प्रअ गुप्ताविरुद्ध आब २०७१/७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको बजेट हिनामिना गरेको, विद्यार्थीका नाममा आएको छात्रवृत्ति नबाँडी अनियमितता गरेको, आब २०७३र७४ मा राहत शिक्षकका लागि अनुदानबापत आएको रकम शिक्षक नराखी आफैं बुझेको, पाठ्य पुस्तक खरिदमा हिनामिना गरेकोलगायत विषयमा अख्तियारले अनुसन्धान गरेको थियो ।

विद्यालयको शौचालय निर्माण गरेबापत भनी २ लाख रुपैयाँको चेकमा दस्तखत गरेकोमा फिल्डमा १ लाख ३७ हजार ४ सय १६ रुपैयाँको मात्रै काम गरी बाँकी हिनामिना गरेको भेटिएको अख्तियारले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।