काठमाडाैं । रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले मागेको एक करोड धरौटी बुझाएका छन् । अदालतले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी मागेको थियो । आइतबार थुनछेक बहस सकिएपछि न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो । धरौटी बुझाएसँगै उनी रिहा भएका छन् । त्यसो त अहिले पनि लामिछाने परिवारकै जिम्मामा थिए ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलगायत २२ जनाविरुद्ध पूरक मुद्दा दायर भएको थियो ।
लामिछानेसँग यसअघि पोखरास्थित सूर्यदर्शन सहकारी गठी प्रकरणमा ६५ लाख र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख रुपैयाँ धरौटी मागिएको थियो । दुई अदालतमा धरौटी बुझाएर उनी रिहा भएका थिए । अब लामिछानेमाथि चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी छ ।