विराटनगर, १४ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा राजनीतिक विसङ्गतिको अन्त्य भई जनताको शान्ति र समृद्धिको चाहना पूरा हुने बताएका छन् ।
उनले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनताका समस्या बुझ्न मद्दत पुग्ने पनि उल्लेख गरे ।
प्रेस सेन्टर नेपाल, मोरङ शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, मधेसीका समस्याबारे जान्न तिनलाई समाधानको पहल थाल्न जागरण अभियान उपयोगी हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले भने, “आर्थिक विकासका निम्ति जागरण अभियान आवश्यक छ, यसबाट उत्पादन र उत्पादकत्व बढाउन पनि मद्दत मिल्नेछ । मेचीदेखि महाकालीसम्मको यो अभियान सुशासनका निम्ति पनि हो ।” अभियानबाट जनता उत्साहित भएका बताउँदै उनले परिवर्तनको संवाहक नेकपा (माओवादी केन्द्र) भएकाे ठाेकुवा गरे ।