काठमाडौं । राजावादी पक्षहरुले हिजो मात्र काठमाडौंमा नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह काठमाडौं आउने क्रममा ठूलो समूह सडकमा उपस्थिति जनाएर स्वागत गर्दै राजतन्त्रको माग अघि सारे । त्यसको एकदिनमै सरकार भने केही झस्किएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज काठमाडौंका केही भिभिआईपीको कार्यालय अवस्थित ठाउँमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार जारी गरेको आदेशमा फागुन २५ गते आइतबारदेखि लागू हुनेगरी २ महिनासम्मका लागि केही ठाउँमा निषेधाज्ञा जारी गरेको उल्लेख छ ।
शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, सिंहदरबार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र, संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको हो ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सोआसपासका क्षेत्रमा विरोधका कार्यक्रम गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्ने पनि आदेशमा उल्लेख छ ।