काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रको सट्टा निरंकुशता नखोजेको बताएका छन् । उनले लाेकतन्त्रकाे विकल्प राजतन्त्र हुन नसक्ने पनि बताएका छन् ।

‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन’ अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

गत आइतबार पोखराबाट प्लेनमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन विमानस्थल आसपासमा र्‍याली निकालिएको थियो । उक्त र्‍यालीमा थापा पनि सहभागी थिए । उनले सच्चा लोकतन्त्रवादीले राजा आउंदा आत्तिनु नपर्ने समेत बताएका छन् । यस्ताे छ उनकाे स्टाटस्-

लोकतन्त्रको विकल्प राजतन्त्र होईन,हुनसक्दैन।त्यो सबैले बुझेका छन्। जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन,राजासहितको लोकतन्त्र खोजेको हो।लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र,सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो।मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो।राजासहितको प्रजातन्त्र बिश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउंदा आत्तिनु पर्दैन।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।