काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालको महाधिवेशनको गरमागरम आजदेखि सुरु भएको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश कोशीको राजधानी विराटनगरमा ओली आफैं प्रमुख अतिथी बनेर जाने कार्यक्रम समेत थियो । नेतृत्व चयन पार्टीको निर्देशन अनुसार नहुने संकेतपछि उनी कार्यक्रममा नै गएनन् ।
अहिले विराटनगरमा जे भइरहेको ओलीको गृह प्रदेशमा ओलीलाई चुनाैती दिने गरी अघि बढेकाे छ । ओलीको प्रतिनिधिका रूपमा गएका प्रमुख अतिथी पार्टी महासचिव शंकर पोखरेलले नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएपनि उनले निर्देशन दिईरहेको बेला हल बाहिर नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाको माग गर्दै हस्ताक्षर नै चलिरहेको थियो ।
एमाले नेताहरुले चौतारी नेता गणेश पाण्डेलाई सर्वसम्मत अध्यक्ष बनाउन खोजिरहेका छन् । तर, अर्का अध्यक्षका उम्मेदवार राजेश राई र उनी पक्षधरले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयनका लागि अडान र दबाब बढाइरहेको छ ।
ओली र उनी पक्षधरहरुले पाण्डेलाई जसरी पनि अध्यक्ष बनाउने प्रयास अहिले पनि जारी राखेका छन् । तर, उक्त प्रयासको ठिक विपरित लोकतान्त्रिक माध्यमबाट नेतृत्व चयनका लागि चर्को दबाब भइरहेको छ ।
यसअघि राईलाई अध्यक्ष बनाउने गरी छलफल अघि बढेको थियो । त्यही अनुसार पाण्डेलाई पार्टी प्रचार सचिवको जिम्मेवारी दिइएको थियो । पाण्डे अन्तिम समयमा आएर पार्टी सचिवबाट राजीनामा दिएर पुनः अध्यक्षको दौडमा लागेका छन् ।