को हुन् भाटभटेनी लुटपाटमा संलग्न कांग्रेस सह-महामन्त्री पुत्र

सौजन्यः खबरहब

काठमाडौं । राजावादीहरुको गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा भाटभटेनीमा लुटपाटमा नेपाली कांग्रेसका एक सहमहामन्त्रीका छोरा पनि संलग्न रहेको खुलेको छ ।

सो दिन भाटभटेनी सुपरस्टोर लुटपाट र तोडफोडपछि सीसीटीभी फुटेज र टिकटक भिडियोको आधारमा समातिएकामध्ये एकजना नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवका छोरा पनि भाटभटेनीमा लुटपाटमा संलग्न रहेको खुलेको हो ।

शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रकरणलाई संघीय संसद्को वर्षे अधिवेशनको पहिलो बैठकमा उठाएका छन् । अध्यक्ष लिङ्देनले सदनमा ती सह-महामन्त्रीका छोरालाई गृहमन्त्री रमेश लेखकले तुरुन्तै छाड्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवम् एसएसपी विश्वराज अधिकारीलाई दबाब दिएको पनि उल्लेख गरेका छन् ।

उक्त बैठकलाई राप्रपाको तर्फबाट सम्बोधन गरेका लिङ्देले कांग्रेसका भाटभटेनी लुटपाटमा संलग्न सह-महामन्त्री पुत्रलाई माथिको दबाबमा छाडिएको प्रमाण पनि आफूकहाँ आइपुगेको बताए । लिङ्देनले कांग्रेस सह-महामन्त्री मात्रै भने तर उनले यादवको नाम लिएनन् ।

गृहबाटै सहमहामन्त्रीका छाेरालाई छाड्न दबाब आएपछि प्रहरीले अरूलाई हिरासतमा राखेपनि उनलाई मुद्दा प्रक्रियामा नलगी छाडिदिएको पाइएकाे हाे ।


लिङ्देनको प्रश्न, ‘सहमहामन्त्रीका छोरा पक्राउ गरेर किन छाड्नुभयो तुरुन्तै ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा सहमहामन्त्रीका छोरा पक्राउ परेको र माथिकाे दबाबमा प्रहरीले तुरुन्तै छाडिदिएको जिकिर गरे ।

‘हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू । भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन्,’ उनले भने, ‘किन छाड्नुभयो तुरुन्तै ?’

सहमहामन्त्रीका छोरासँगै गएका अर्का व्यक्तिले भाटभटेनीबाट कपडा लिएर गएको पनि उनले बताएका छन् । ती कपडा लिएर जाने व्यक्तिले कुरा खोलिदिने भनेर धम्क्याएपछि उनलाई पनि दुई घण्टामा नै प्रहरीले छाडेको लिङ्देनेको दाबी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।