काठमाडाैं । नेपाल आयल निगमले डिपाे प्रमुखहरूकाे हेरफेर गरेकाे छ । कार्यकारी निर्देशक चण्डिका भट्टले आर्थिक वर्षकाे अन्त्यतिर कर्मचारीको सरूवा गर्दा पहुँच र पावर भएकाले संवेदनशिल ठाउँमा ‘चान्स’ पाएकाे पाइएकाे छ । कतिपयकाे भने कार्यवधि नै नपुगि पनि सरूवा गरिएकाे छ । पावर, पहुँच र आर्थिक चलखेलले काम गरेकाे भनेर निगम भित्रै चर्चा हुने गरेकाे छ ।

झापाको चारआली र धनुषाको महेन्द्रनगर शाखा कार्यालयबाट कार्यावधि नपुगी डिपो प्रमुख सरूवा भएका हुन् । एक वर्षअघि मात्रै चारआली शाखा प्रमुख भएकी गिता धिताललाई तानेर इआरपी परियोजनामा पदस्थापन गरिएको छ भने गत फागुनमा मात्रै महेन्द्रनगर कार्यालय प्रमुख भएका मनिष न्यौपानेलाई केन्द्रीय कार्यालयको इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग ल्याइएको हाे ।

नयाँ डिपो प्रमुखका रुपमा चारआलीमा उप–प्रबन्धक उमेश पोखरेल र महेन्द्रनगरमा उप–प्रबन्धक रंजीत कपारीलाई पठाइएको छ। पोखरेल थानकोट र कपारी सिनामंगल डिपोको अपरेसन विभागमा कार्यरत थिए। आयल निगमको कर्मचारी प्रशासन विनियमावली अनुसार डिपो प्रमुखको कार्याकाल दुई वर्षको हुनेछ ।

काठमाडौं उपत्यकासहितका महत्वपूर्ण ठाउँमा इन्धन वितरण गर्ने थानकोट डिपो प्रमुखमा उपनिर्देशक जगदिश यादवलाई पठाइएको छ। त्यहाँ कार्यरत उपनिर्देशक अशोक साहलाई केन्द्रीय कार्यालय सरूवा गरिएकाे छ ।

थानकाेट जान इन्दु शर्मा, अभिषेक ठाकुर लगायतले इच्छा देखाए पनि व्यवस्थापनकाे राेजाईमा यादव परेका हुन् । यादव तीन वर्षअघि भैरहवा डिपो प्रमुख भएका थिए ।

निगमले अमलेखगञ्ज–चितवन (लोथर) पेट्रोलियम पाइपलाइन र भण्डारण गृह परियोजनाको संयोजक पनि परिवर्तन गरेर उपनिर्देशक प्रदिप यादवलाई जिम्मेवारी दिएको छ ।

उनी सबैभन्दा ठूलो दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्ज प्रमुख यसअघि पनि भईसकेका छन् । त्यसअघि बागमती प्रादेशिक कार्यालय, थानकोट प्रमुख थिए । निगममा सबैभन्दा महत्वपूर्ण ठाउँमा उनकाे पटक पटक जिम्मेवारी हुने गर्दछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।