काठमाडौं । कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड घोटाला भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कर्णाली विकास बैंकको अनुसन्धान गरेको छ ।
सिआइबीले अनुसन्धान सकेर केही दिनअघि सरकारी वकिलको कार्यालय बाँकेलाई बुझाएको प्रतिवेदन अनुसार बैकमा ३ अर्ब २० करोड घोटाला भएको पुष्टि भएको छ ।
नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको घोटालाबारे छानबिन गर्न काठमाडौंबाटै सिआइबीको टोली गएको थियो। सिआइबीको टोली अहिले फर्किसकेको छैन।
सिआइबीले गरेको अनुसन्धानबाट कर्णाली विकास बैंकको तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रूपैयाँ बिगो मागदाबी गर्नुपर्ने राय सरकारी वकिलसमक्ष पेस गरेको छ।
उनीहरूले कतिपय रकम अन्य बैंकबाट ल्याएर बैंकमा दाखिला समेत नगरी अपचलन गरेको र त्यसरी ल्याएको रकम मात्रै एक अर्ब बढी रहेको जनाइएको छ । यस प्रकरणमा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र, तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरी र नेपाल राष्ट्र बैंकका पूर्व अनुगमन अधिकृत भुवन बस्नेत छन्। पशुपति दयाल नेकपा एमालेका नेता समेत हुन्। उनी २०६६ सालदेखि २०७५ सालमा अध्यक्ष भएका थिए।

