यस पटककाे नाडा प्रदर्शनीमा उड्ने कार राखिएकाे छ। प्रदर्शनीकाे पहिलाे दिन उड्ने कार हेर्नेहरूकाे घुइँचाे लगेकाे छ ।
यसमा मल्टी-प्यारासुट सुरक्षा प्रणाली जडान गरिएको छ, जसले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ । यो कार पुरै इलेक्ट्रिक हो र Vertical Take-Off and Landing (eVTOL) प्रविधिमा आधारित छ । याे कार दुई सिटे छ ।
पूरै चार्जमा याे कार करिब ३० किलोमिटर उड्न सक्छ । यसकाे गति लगभग १३० किमी/घन्टा छ। चीनको चांगन अटोमोबाइल कम्पनीले ईह्याङ (EHang) कम्पनीसँगको साझेदारीमा उत्पादन गरेको यो उड्ने कार “दिपल” उप–ब्रान्ड अन्तर्गत एमएडब्लू वृद्धि अटो कर्प प्रालिले नेपालमा ल्याएको हो ।
उक्त उड्ने कार भरियालाई बाेकाएर तातोपानी नाका हुँदै काठमाडौं ल्याइएको हो । याे कार प्रदर्शनको लागि मात्र ल्याइएको हो । नेपालमा यसको संचालन अनुमति छैन । संचालन नै नभए पछि नेपालमा यसको मूल्य ताेकिएकाे छैन । तर चीनमा भने याे कारकाे मूल्य नेपाली दुई कराेडसम्म पर्ने बताइएकाे छ ।
अमेरिका,चीन, काेरिया र यूएइलगायतका देशमा यस्ता कारहरूकाे परीक्षण उडान भइसकेका छन्।







