काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गरेका छन् ।
नाडा नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा शुक्रबार देखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटनका अवसरमा बोल्दै उनले सरकारले लागू गरेको युरो–६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै एकपटक अनुमति दिन आग्रह गरे ।
अध्यक्ष ढकालको सो आग्रहसंगै प्रधानमन्त्री के.पी.शर्मा ओलीले महासंघका अध्यक्षले उठाएको माग सकारात्मक भएको र यस विषयमा सरकारले विचार गर्ने प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री ओलीले सरकार अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेको उल्लेख गर्दै सरकाको तर्फबाट लगानी र काम गर्न कुनै बाधा नहुने धारणा राखे ।
कार्यक्रममा अध्यक्ष ढकालले पछिल्लो समय इलेक्ट्रिक गाडीको आयात बढिरहेको उल्लेख गर्दै नेपालमा गाडी एसेम्बल उद्योग, डाटा सेन्टर र वातावरणमैत्री उत्पादनको सम्भावना रहेको बताए। उनले सरकारले हालसालै ३० भन्दा बढी उद्योग, लगानी र व्यवसाय सम्बन्धी कानुन परिमार्जन गरेको र यसले निजी क्षेत्रप्रतिको धारणा सकारात्मक बन्दै बताए ।






