काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट भेरी नगरपालिकाको सडक निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले भेरी नगरपालिकाको कारागार रानागाउँ नेटबजार सडक निर्माणआयोजना सम्बन्धी ठेक्कामा अनियमिता भएको ठहर गर्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
झण्डै २ करोड ८० लाख रुपैयाँ लागतको उक्त आयोजनामा बोलपत्र प्रक्रिया पारदर्शीता नदेखिएको र निश्चित ठेकेदारलाई लाभ हुने गरी ठेक्का दिइएको देखिएको अख्तियारको ठहर छ ।
२०८० साल फागुन २० गते ‘थापा/सविन/सुदर्शन जे.बी.’ सँग २ करोड ६९ लाख ५५ हजार २३३ रुपैयाँ ९० पैसा (भ्याट र एक् सहित) रुपैयाँमा नगरपालिकाले ठेक्का सम्झौता गरेको थियो ।
तर, उक्त संयुक्त ठेकेदार कम्पनीले आवश्यक औसत वार्षिक कारोबार ७० प्रतिशत नपुगेको र साइट भिजिट प्रमाणपत्र समेत नदिएको अवस्थामा पनि योग्य घोषित गरी ठेक्का दिइएको पाइएको अख्तियारले जनाएको छ ।

