Friday, September 11, 2026
25.1 C
Kathmandu
Home ठगी र अपराध खोटाङमा सार्वजनिक जग्गाको रुख बिरुवा धमाधम बिक्री, वनका कर्मचारीकै मिलेमतोको आशंका

खोटाङमा सार्वजनिक जग्गाको रुख बिरुवा धमाधम बिक्री, वनका कर्मचारीकै मिलेमतोको आशंका

रातोघेराभित्रको रहेको साम्सु खोला, जहाँबाट सार्वजनिक जग्गाको रुख विरुवा बिक्री भएको हो ।

काठमाडौं । खोटाङमा सार्वजनिक जग्गामा रहेका रुख विरुवाको धमाधम बिक्री भइरहेको पाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित लामाखु र साकेला गाउँपालिका वडा नम्बर एकस्थित सेखुवाको बीच भागमा पर्ने साप्सु खोलामा अवस्थित मसानघट्टा लगायत क्षेत्रको सार्वजनिक तथा औंलेनी जग्गाको रुख विरुवा धमाधम बिक्री गरेकाे पाइएकाे हो ।

स्थानीयहरुले वन कार्यालय, दिक्तेलमा उजुरी गर्दा वन कार्यालयले छानबिन गर्नुपर्नेमा सुने नसुनै गरेर सार्वजनिक जग्गाको रुख विरुवा बिक्री गर्न दिइरहेको गुनासाे गरेका छन् । स्थानीयका अनुसार आज (बिहीबार) मात्र दुई ट्रक रुख बिरुवा त्यहाँबाट बिक्रीका लागि बाहिर लगिएको छ । त्यहाँ एक डेढ महिनादेखि रुख विरुवा कटान गरी बिक्री भएको हो ।

स्थानीय इन्द्र बहादुर रोकाले झण्डै २० रोपनी सार्वजनिक र औंलेनी जग्गामा रहेका रुख बिरुवाको बिक्री भएको बताए । ‘हामीले सार्वजनिक जग्गामा रहेको रुख बिरुवा कटान गर्न थालेपछि वन कार्यालयमा जानकारी गराईसकेको थियौं, तर वन कार्यालयले कुनै वास्ता नै गरेन, आज मात्र दुई ट्रक रुख बिरुवा लगिएको छ ।’ उनले भने ।

वन कार्यालय खोटाङका प्रमुख उदिम प्रसाद राईले यो विषय पहिले पनि उठेको बताउँदै आफैं गएर आवश्यक परे नापीबाट पनि मान्छे लगेर नीजिको हो वा सार्वजनिक भनेर छुट्याउने बताए । ‘म आफैं गएर अब के भएको रहेछ पत्तो लगाउँछु, यदि नीजिको रुख विरुवा काट्न अनुमति लिएर सार्वजनिक जग्गाको रुख विरुवा काटिएको रहेछ भने कारबाही गर्छौ ।’ उनले भने ।

वन कार्यालय प्रमुख राईले छानबिन गरेर कारबाही गर्ने आश्वासन दिएपनि स्थानीयले यसअघि नै उजुरी गर्दा पनि पुनः सोही सार्वजनिक जग्गाबाट रुख बिरुवाको बिक्री हुनुले वनका कर्मचारीको मिलेमतो त छैन भन्ने प्रश्न पनि उब्जाएको छ ।

वन कार्यालय प्रमुख राईले भने यदि कोही कर्मचारीको मिलेमतो भएको पाइएमा उनीहरुमाथि पनि कारबाही हुने बताए । खोटाङका अन्य ठाउँमा पनि सार्वजनिक जग्गाको रुख कटानी गरी बिक्री हुने गरेको गुनासो छ ।

साकेला गाउँपालिकास्थित बादुङमा पनि सार्वजनिक जग्गाको रुख विरूवा बिक्री भएको स्थानीयले गुनासो गरेका छन् । यसअघि, नापी कार्यालयले सार्वजनिक जग्गाको रुख बिरुवा भनेर छाडेको ठाउँमा हालै मात्र रुख विरुवा कटान गरी बिक्री गरिएको एक स्थानीयले बताए ।

वन कार्यालयमाथि शंका छ, अख्तियार जान्छौं : स्थानीय
स्थानीयले वन कार्यालयमाथि गम्भीर आशंका व्यक्त गरेका छन् । सार्वजनिक जग्गाको रुख विरुवा बिक्री वन कार्यालयका कर्मचारीको मिलेमतो बिना सम्भव नहुने भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्ने बताएका छन् ।

एक स्थानीयले वन कार्यालयमा उजुरी गर्दा पनि रुख विरुवा बिक्री भइरहनुले वन कार्यालयका कर्मचारीको मिलेमतो हुन सक्ने भन्दै अख्तियार जाने बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।