काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार विज्ञप्तिमार्फत् अध्यक्षका प्रतिस्पर्धा गर्न आफू तयार रहेको बताएका हुन्।
र पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्व सहज रूपमा हस्तान्तरण गर्न अनुरोध समेत गरेका छन् ।
‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्ने पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छ,’ पोखरेलले भनेका छन्, ‘अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।’
पार्टी पुनर्गठन र रुपान्तरणका लागि आफूले एमालेको नेतृत्व गर्ने घोषणा गरेको पोखरेलको भनाइ छ । आफूले नैतिक बल आर्जन गरेको र शक्तिमा विश्वास नगर्ने उनले बताएका छन् । ‘विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु,’ उनको भनाइ छ, ‘पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।’







