काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन जुवा सट्टेबाजी (बेटिङ) खेलाउने कम्पनीको खुलेआम रुपमा प्रचार भइरहेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘डाफा न्युज’को विज्ञापनको प्रचार गरिरहेको छ । यो अनलाइन सट्टेबाजी खेलाउने डाफा बेट नामक कम्पनीको ‘सरोगेट’ विज्ञापन हो । डाफा न्युजमा हालसम्म एउटा पनि एनपिएलको समाचार भेटाउन सकिदैन । बरु जइन अप्सनमा गएमा सिँधै बेटिङको साइटमा पुग्ने बनाइएको छ ।
क्यान आफैंले अप्रत्यक्ष रुपमा बेटिङको प्रचार गरिरहेको याे एक उदाहरण हो । विज्ञापन बोर्डले क्यानलाई सचेत गराउँदा गराउँदै पनि क्यानले पैसाका लागि बेटिङ कम्पनीको प्रचार गरिरहेको हो ।
एनपिलमा सहभागी आठ टिम मध्ये सुदुरपश्चिम रोयल्सको जर्सीमा नै अर्को बेटिङ कम्पनीको विज्ञापन निर्बाध रुपमा प्रचार भइरहेको छ । बाजी नामक बेटिङ कम्पनीलाई एनपिएलमा प्रचारको मौका दिएको हो । शनिबार जनकपुर बोल्ट विरुद्धको खेलमा पनि सुदुरपश्चिमका खेलाडीले सट्टेबाजी गर्ने कम्पनीको लागो अंकित जर्सीमा खेल खेलिरहेका छन् ।
आन्तरिक खेललाई बढवा दिने उद्देश्यले एनपिएल आयोजना गरिए पनि नेपालीहरुलाई सट्टेबाजीको विज्ञापन देखाएर त्यतातिर आकर्षित गर्ने माध्यम पनि बन्दै गएको छ । यसबाट धेरै युवाहरु सट्टेबाजीमा फस्ने र नेपालको पैसा बाहिर जाने खतरा पनि उत्पन्न भएको छ ।
मुलुकी अपराध संहिता, २०७४ मा जुवा तथा सट्टेबाजीलाई गैरकानुनी ठहर गरेको छ । यस्तै, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले जुवा खेल्न खेलाउन प्रोत्साहन गर्ने गरी विज्ञापन गर्न प्रतिबन्ध गरेको छ। तर, क्यानले भने कानुनलाई धज्जी उडाइरहेको पाइएको हो ।
प्रहरीले सट्टेबाजीमा संग्लनमाथि कारबाही गर्दै आएपनि यसरी प्रचार प्रसार गरेर बढावा दिनेमाथि भने कुनै कारबाही गर्ने गरेको छैन ।


