Tuesday, October 6, 2026
19.1 C
Kathmandu
Home ब्यानर रवि लामिछाने छुट्न कसरी र कहाँबाट ल्याए २ कराेड ७४ लाख ?

रवि लामिछाने छुट्न कसरी र कहाँबाट ल्याए २ कराेड ७४ लाख ?

काठमाडाैं । सहकारी सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अदालतकाे आदेशपछि शुक्रबार थुनामुक्त भएका छन् ।

अदालतले उनलाई बैंक जमानतसहित विदेश जान परे पुर्व जानकारी गराउनेलगायत शर्तमा जेलबाहिरै बसेर मुद्दा लड्ने अवसर दिएकाे हाे ।
उनी छुट्ने क्रममा २ कराेड ७४ लाख बिगाे तथा जमानत बुझाउनु परेकाे छ ।

रविले यत्राे पैसा कसरी बुझाए भनेर पनि चासाे रहेकाे पाइन्छ ।

कसरी बुझाए पैसा ?
सामान्यतया अदालतले थुनामुक्त हुँदा नगद धराैटी र बैंक जमानतमध्ये कुनै एक माग्न सक्छ । रविकाे मुद्दामा बैंक जमानत मागिएकाे थियाे ।

बैंक जमानत भन्नाले बैंकले पत्र/प्रतिबद्धता दिने एक प्रकारको वित्तीय सुविधा हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा बैंक जमानत सम्बन्धी व्यवस्था छ ।

रविले अहिले नगद रकम बुझाएका हैनन् । उनकाे हकमा अदालतकाे आदेश अनुसार बैंक ग्यारेण्टी बसेपछि उनी छुटेका हुन् ।

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ ले बैंकले ग्यारेन्टी जारी गर्न सक्ने अधिकार दिएकाे छ भने बैंकले जारी गरेको ग्यारेन्टी कानुनी रूपमा बाध्यकारी हुने उल्लेख छ ।

निस्कदै गर्दा हिसाब मिलाउने चेतावनी
अदालतबाट निस्कने क्रममा बाहिर उपस्थिति भिडलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो “न्यायको लडाइँ बाँकी नै रहेको” बताए।

“मेरा लागि होइन, देशका लागि लड्नु छ। यिनीहरूले यो देशमाथि गरेको अन्यायका अघि ममाथि गरेको अन्याय केही पनि होइन।
त्यो सबैको हिसाब गर्नु छ। हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।”

काठमाडाैंकाे नख्खु जेलमा रहेका उनी कानुनी प्रकिया अनुसार कागजपत्र मिलाउन भैरहवा पुगेका थिए । बिहीवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई तारेखमा रिहा गर्न आदेश दिएकाे थियाे ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।