काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल ट्रस्ट जग्गा अनियमितता प्रकरणमा पक्राउ गरी अदालतमा पेश भएका पूर्वसचिव र पूर्वसहसचिवलाई धरौटी बुझेर छाड्न अदालतले आदेश दिएको छ ।
सिआईबीले ४ अर्ब ८६ करोड माग दाबी गरेकाे नेपाल ट्रस्टकाे मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामचन्द्र खड्काको इजलासले पूर्वसचिव अर्जुनकुमार कार्कीबाट ६ लाख र पूर्वसहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको हो ।
नेपाल ट्रस्टको दरबारमार्गस्थित १ रोपनी १४ आना जग्गा भाडामा दिने निर्णयमा बदनियत देखिएको भन्दै जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता भएको थियो ।
ट्रस्टका तत्कालीन सचिव अर्जुनकुमार कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ प्रालि र त्यसका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाविरुद्ध सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले २१ कात्तिकमा पूर्वसहसचिव लेखबहादुर कार्की र ३० कात्तिकमा पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको थियो ।
अभियोगपत्र अनुसार नेपाल ट्रस्टको सञ्चालक समिति बैठकले दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा दिने योजनालाई २८ साउन २०७१ मा पहिलो पटक स्वीकृति प्रदान गरेको थियो । करिब २ वर्षपछि जग्गा लिजमा दिन बोलपत्र आह्वान गरिएको थियो । त्यसक्रममा जग्गा भाडामा लिन थामसेर्कुले ६ अर्ब २६ करोड रुपैयाँको प्रस्ताव बुझाएको थियो । तर त्रुटिवश गलत अंक परेको भन्दै २४ फागुन २०७३ मा १ अर्ब ४० करोड रुपैयाँको प्रस्ताव बुझाइएको थियो । प्राविधिक प्रस्तावमा सफल भएको दोस्रो नम्बरको साखः प्रालिले ६२ करोड २४ लाख ५८ हजार र आद्रिसिय–लियानज जेभीले २६ करोड २८ लाख रुपैयाँ प्रस्ताव गरेका थिए ।
थामसेर्कुले पहिले गरेको प्रस्तावविपरीत सम्झौता गराएर हानि पुर्याएको भन्दै तीन व्यक्ति र एक कम्पनीबाट ४ अर्ब ८६ करोड २५ लाख बिगो भराउन मागदाबी गरिएकाे बाटोको जग्गा प्रयोग गर्न दिएबापत ५३ लाख २४ हजारसमेत बिगो थप गरिए पनि अदालतले भने पूर्वसचिव अर्जुनकुमार कार्कीबाट ६ लाख र पूर्वसहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।







