काठमाडौँ । गुणस्तर र विश्वासको नारा दिने अर्घाखाँची सिमेन्ट सरकारी अनुगमनमा दोषी पाइएपछि कारबाहीमा परेको छ। सिमेन्टले उपभाेक्तालाई ठग्दै आएकाे पाइएकाे हाे ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा उपभोक्ता हित विपरीतका कार्य गरेको पुष्टि भएपछि उद्योगमाथि आर्थिक जरिवानासहित कडा कारबाही गरिएको हो।
उपभाेक्ता ठग्दै अर्घाखाँची सिमेन्ट
सधैँ चर्चा र विवादमा रहने अर्घाखाँची सिमेन्ट लिमिटेडले प्रचलित कानुनको उल्लंघन गरेको विभागको ठहर छ। विभागका अनुसार उक्त सिमेन्ट उद्योगले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२)(क) र दफा ३८(ङ) बमोजिमको कसुर गरेको पाइएको छ।
ऐनकाे २०७५ को दफा १६(२) मा वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई, वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने कार्य गर्न नहुने उल्लेख छ ।
यी दफाहरू मुख्यतया उपभोक्तालाई भ्रममा पार्ने, अनुचित व्यापारिक क्रियाकलाप गर्ने वा गुणस्तर र सेवामा लापरबाही गर्नेसँग सम्बन्धित छन्। सोही ऐनको दफा ३८(१)(ख) को अधिकार प्रयोग गर्दै विभागले उद्योगलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको हाे ।
सरकारी अनुगमनमा “कालो कर्तुत” सार्वजनिक
मिति २०८२/०८/०७ गते आइतबारका दिन विभागले गरेको आकस्मिक निरीक्षणका क्रममा उद्योगले गरिरहेको बदमासी फेला परेको थियो। विकास निर्माणको मुख्य आधार मानिने सिमेन्ट जस्तो संवेदनशील वस्तुमा उद्योगले गरेको यस्तो लापरबाहीले उपभोक्ताको सुरक्षा र लगानीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
अर्घाखाँची सिमेन्ट यसअघि पनि पटक पटक कारबाहीमा परिसकेकाे छ । तर, केही लाख जरिवाना तिर्ने र गुणस्तरहिन सामग्रीकाे भरमा उपभाेक्ताबाट कराेडाैं ठग्दै आएकाे पाइएकाे छ ।








