वाणिज्य बैंक बन्न खोजेको गरिमा बैंकः एनपिएल उच्च जोखिममा, वितरणयोग्य नाफा ६१ प्रतिशतले ओरालो

बैंकका सिइओ माधव प्रसाद उपाध्याय र बैंकको लोगो ।

काठमाडौं । क वर्गको वाणिज्य बैंकमा स्तरोन्नती प्रक्रिया अघि बढाएको गरिमा विकास बैंक जोखिमपूर्ण आर्थिक अवस्थामा गुज्रिरहेको पाइएको छ । बैंकको पछिल्लो विवरण अनुसार वितरणयोग्य नाफामा समेत ६१ प्रतिशतले ओरालो लागेको छ ।

गरिमा विकास बैंकको नन् पर्फमिङ लोन (एनपिएल) अर्थात खराब कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार ४.७३ प्रतिशत पुगेको छ । यो राष्ट्र बैंकले ताेकेकाे सिमा भन्दा माथि हो । ५ प्रतिशतमाथि एनपिएल पुगेमा बैंकहरु राष्ट्र बैंकको कडा निगरानीमा पर्ने गर्छन् भने राष्ट्र बैंककाे निर्देशनकाे परिपालना गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकको कडा निर्देशन र निगरानीको अवस्थामा पुगेको गरिमा बैंकले यहीँ बेला क वर्गको वाणिज्य बैंकमा स्तरोन्नतीको प्रक्रिया अघि बढाएको हो । सुचांकहरु केलाउने हो भने गरिमा विकास बैंक स्तरोन्नती हुने अवस्थामा छैन ।

नियामक निकाय राष्ट्र बैंकले यस विषयमा छानबिन गर्ने भएकाले यो प्रक्रिया जारी छ ।

वितरणयोग्य नाफामा ठूलो गिरावट
गरिमा विकास बैंकमा आर्थिक सुचांकहरू झनै खस्किदै गएको पाइन्छ । बैंकको वितरणयोग्य नाफामा ठूलो गिरावट आएको छ । अघिल्लो वर्षमा तुलनामा ६० प्रतिशत बढीले विरणयोग्य नाफा घटेको छ । अघिल्लो वर्षको अवधीमा ८.६ करोड वितरणयोग्य नाफा रहेकोमा यो वर्षको त्रैमासिक अवधीमा बैंकको वितरणयोग्य नाफा ३.३ करोडमा मात्र खुम्चिएको छ ।

आगामी दिनमा बैंकको एनपिएल बढ्दै जाँदा प्रोभिजनमा ठूलो खर्च गर्नुपर्ने र सञ्चालन खर्च बढ्दै जाँदा लाभांश क्षमतामा ठूलो असर पर्ने देखिएको छ । बैंकको गत वर्षदेखि नै कागजी घाटाहरुको ठूलो फेरिस्त बन्न थालेको छ ।

बैंकको पुँजी पर्याप्तता अनुपात नियामक सिमाभित्र रहेपनि घट्दो रहेको पाइएको छ

यसैगरी, बैंकको क्यास तथा क्यास इक्युभ्यालेन्टमा पनि कमी आएको छ । यसले बैंकको तरलतामा क्रमिक दबाब थपेको छ ।

अर्कातर्फ, लगानीतर्फ बढी नगद बाहिरिएको छ । सरकारी तथा अन्य लगानी बढ्दा छोटो अवधिको तरलता जोखिम बढ्ने खतरा पनि देखिएको छ । विगतको तुलनामा कर्जा–निक्षेपको अनुपात पनि घट्दो रहेको पाइएको छ ।

हेलोखबरले बैंकका सुचना अधिकारी अनिल रेग्मीसमक्ष प्रतिक्रिया लिने प्रयास गरेका थियौं । त्यो सफल हुन सकेन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।