निर्वाचन आचारसंहिता तोडेर क्यानको नेतृत्व निकटस्थलाई दिने तयारी गर्दै सरकार

काठमाडाैं । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नेतृत्वमा आफ्ना निकटस्थ व्यक्तिलाई नियुक्त गर्ने तयारी गरिरहेकाे छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा आइसकेको समयमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले हाल निमित्त महानिर्देशक रहेका देवचन्द्रलाल कर्णलाई नै स्थायी महानिर्देशक बनाउने गृहकार्य अघि बढाएका हुन् ।

भ्रष्टाचार आरोपमा निलम्बनमा परेका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको कार्यकाल गत शनिवारदेखि सकिएको छ ।

अधिकारी निलम्बनमा परेपछि मन्त्री सिन्हाले मन्त्रीस्तरीय निर्णयमार्फत प्राधिकरणकै उपमहानिर्देशक कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

तर, अहिलेको विवाद निमित्त नियुक्तिमा सीमित छैन । मन्त्री सिन्हाले निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा पनि कर्णलाई नै कार्यकारी प्रमुख अर्थात् पूर्ण महानिर्देशक बनाउने प्रयास गरिरहेको स्रोतहरूको भनाइ छ ।

स्रोतको दाबी छ, ‘चुनावपछि त मन्त्री सिन्हाको हैसियत आम नागरिककै हुने हो, त्यसअघि नै आफ्नो मान्छेलाई ल्याउने प्रयास उनले गरिरहेका छन् ।’

स्रोतका अनुसार कर्ण हाल वरिष्ठतामा दोस्रो नम्बरमा भए पनि मन्त्रीको विशेष विश्वासपात्र भएकै कारण उनलाई अघि सार्ने प्रयास भएको हो ।

कर्ण र मन्त्री सिन्हाबीचको क्षेत्रीय तथा राजनीतिक निकटता पनि रहेको स्रोतको दाबी छ । त्यसैले मन्त्री सिन्हाले क्यानको महानिर्देशक पदमा कर्णलाई स्थापित गर्न खोजेको चर्चा मन्त्रालय र प्राधिकरण दुवैतर्फ छ ।

क्यान जस्तो संवेदनशील निकायको नेतृत्वमा राजनीतिक तथा क्षेत्रीय आधारमा नियुक्ति गर्न खोजिनु निर्वाचन आचारसंहिताको प्रत्यक्ष उल्लङ्घन भएको कानुनविद्हरूको टिप्पणी छ ।

कानुनी रूपमा हेर्दा मन्त्रीले कसैलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिन सक्ने भए पनि पूर्ण महानिर्देशक नियुक्ति भने मन्त्रिपरिषद् (क्याबिनेट) को निर्णयबाट मात्र सम्भव हुन्छ । यही कारण मन्त्री सिन्हाले क्याबिनेटमार्फत निर्णय गराउने प्रयास गरिरहेको स्रोतहरू बताउँछन् ।

तर, निर्वाचन आचारसंहिता कार्यान्वयनमा रहेकाले यस किसिमको नियुक्ति निर्णय अहिले गर्न नपाइने स्पष्ट व्यवस्था छ । आचारसंहिताअनुसार निर्वाचनको मिति तोकिएपछि नयाँ नियुक्ति, सरुवा वा पदस्थापनजस्ता निर्णय रोक्नुपर्ने हुन्छ ।

यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च कर्मचारीले भने मन्त्रीको तयारीबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

‘मन्त्रीको कुरा भन्दा पनि क्याबिनेटले नै निर्णय गर्नुपर्ने विषय हो यो । उहाँहरू दुवै निकट हुनुहुन्छ तर, उहाँलाई महानिर्देशक बनाउने तयारी भएको मलाई जानकारी छैन,’ ती कर्मचारीले भने ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयका सहसचिव मुकेश डंगोललाई क्यानको महानिर्देशकको समेत जिम्मेवारी दिएकी थिइन् । तर, सिन्हाले मन्त्रालय सम्हालेपछि भने प्राधिकरणकै उपमहानिर्देशकलाई निमित्त प्रमुख बनाइएको हो ।

क्यानमा अहिले १२औँ तहमा तीनजना कार्यरत छन् । प्रेमनाथ ठाकुर, देवचन्द्र लाल कर्ण र जगन्नाथ निरौला १२औँ तहका कर्मचारी हुन् । उनीहरूमध्ये बरियतामा ठाकुर पहिलो, कर्ण दोस्रो र निरौला तेस्रोमा छन् । कर्ण र ठाकुर २०६५ पुस २६ गते तथा निरौला २०६९ चैत २९ गते १२औँ तहमा बढुवा भएका थिए ।

क्यान नेपालका हवाई सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील निकाय हो । अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्ड, युरोपेली सङ्घको कालोसूचीबाट मुक्त हुने प्रयास र विमानस्थल सञ्चालनजस्ता गम्भीर विषय क्यान नेतृत्वसँग गाँसिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।