एनआईएमबीसँगको खरिद बिक्रीबारे एनसेलको स्पष्टोक्ति– ‘समाचार भ्रामक छ, खरिद कानुन र प्रक्रिया पुर्याएरै गरिएको हो’

काठमाडौं । नेपाल इन्भेष्टमेष्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पत्ति खरिद बिक्रीसँग सम्बन्धित समाचार भ्रामक भएको भन्दै एनसेलले खण्डन गरेको छ ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले २०८२ माघ २१ गते हेलोखबरमा “एनआईएमबीको बदमासीः सरकारको नामको ५ अर्बको सम्पत्ति कानुन विपरित बिक्री, एनसेलको मिलेमतो’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको र समाचार भ्रामक रहेको र त्यसले पाठकहरु माझ कम्पनी, सम्बद्ध विभागका कर्मचारीहरुका बारेमा भ्रम सिर्जना गरेको बताएकी छिन् ।

हेलोखबरले स्मार्ट टेलिकमका पूर्व सञ्चालक अहिले एनसेलमा रहेको र स्मार्ट टेलिकमकै सम्पत्ति पुनः एनसेलले खरिद गर्नुमा मिलेमतोकाे आशंका गर्दै समाचार प्रकाशित गरेको थियो । स्मार्ट टेलिकमको लाइसेन्स खारेजीसँगै सरकारको नियन्त्तणमा आईसकेको अवस्थामा नेपाल इन्भेष्टमेष्ट मेगा बैंकले नियम विपरित लिलामी प्रक्रियमार्फत स्मार्ट टेलिकमको सम्पत्ति बिक्री गरेको हो ।

प्रेस काउन्सिल नेपाललाई समेत बोधार्थ गरिएको हेलोखबरलाई इमेलमार्फत पठाएको खण्डनमा खरिद प्रक्रिया कानुन अनुसार नै गरिएको दाबी गरिए पनि स्मार्ट टेलिकममा पहिले रहेका सञ्चालक नै अहिले एनसेलमा रहेको विषयमा भने एनसेल मौन रहेकाे छ । स्मार्ट टेलिकमका तत्कालिन सञ्चालक नै अहिले एनसेलका सञ्चालक छन् । तिनै सञ्चालकले स्मार्ट टेलिकमको झण्डै ३० अर्ब भुक्तानी सरकारलाई तिर्न बाँकी छ । यस विषयमा भने एनसेलले कुनै पनि खण्डन गरेको छैन ।

हेर्नुहोस् खण्डन् जस्ताको तस्तै
श्री सम्पादकज्यू,
हेलोखबर
काठमाडौं, नेपाल

विषयः भ्रामक समाचारको खण्डन बारे ।

महोदय,

उपरोक्त सम्बन्धमा २०८२ माघ २१ गते त्यस अनलाइनमा ‘ एनआईएमबीको बदमासीः सरकारको नामको ५ अर्बको सम्पत्ति कानुन विपरित बिक्री, एनसेलको मिलेमतो’ भन्ने शीर्षकमा प्रकाशित समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो समाचार भ्रामक रहेको र यसले पाठकहरु माझ यस कम्पनी र सम्बद्ध विभागका कर्मचारीहरुका बारेमा भ्रम सिर्जना गरेको स्पष्ट पार्न चाहन्छौं ।

उक्त समाचारसँग सम्बन्धित यो खण्डन हुबहु प्रकाशित गर्न अनुरोध गर्दै तल उल्लेखित कुराहरु प्रष्टाउन चाहन्छौं ।

• यस कम्पनीले स्मार्ट टेलिकम प्रा.लि.का दूरसञ्चार सेवासँग सम्बन्धित उपकरण तथा टावरहरु खरिद गरेको सम्बन्धमा हेलोखबरबाट कुनै पनि प्रश्न कम्पनीको नीति अनुसार इमेल वा चिठीमार्फत नआएको स्पष्ट पार्न चाहन्छौं । समाचारमा उल्लेख भएका सम्बन्धित विभागका कर्मचारीहरु त्यस मिडियाको सम्पर्कमा नै रहेका थिए र त्यस मिडियाका सम्पर्क व्यक्तिलाई कम्पनीको मिडिया नीतिका बारेमा जानकारी गराई सकिएको थियो । कुन कुरा वा जानकारी मिडियालाई दिने वा नदिने भन्ने अधिकार कम्पनीमा निहित हुने स्पष्ट पार्न चाहन्छौं ।

•यस कम्पनीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाममा धितोमा रहेको स्मार्ट टेलिकम प्रा. लि. को दूरसञ्चार सेवासँग सम्बन्धित उपकरण तथा टावरहरु कानुन बमोजिम लिलाम विक्रीमार्फत खरिद गरेको हो र लिलामी प्रक्रिया र सार्वजनिक सूचनाका बारेमा समाचारमा नै उल्लेख भएको छ । तसर्थ कानुन र प्रक्रिया पुर्याई गरिएको खरिदलाई अतिरंजित गरि समाचार संप्रेषण गर्नु र लगानीकर्तालाई जथाभावी रुपमा समाचारमा उल्लेख गर्नु निन्दनीय छ ।

•पहिला नेपाल दूरसञ्चार प्राधिकरणबाट यस कम्पनीको टावरलगायतका उपकरणहरुको आयात स्वीकृति तथा विदेशी मुद्रा सिफारिस जस्ता सहजिकरणका कार्यहरु २ वर्षभन्दा बढि समय रोकिएको कारण कम्पनीले पुराना र बिग्रिएका उपकरणहरुको प्रतिस्थापन तथा नयाँ उपकरणहरु जडान तथा सञ्चालन गर्न नसकेको र विदेशी सेवा प्रदायकहरु तथा आपुर्तिकर्ताहरुलाई रकम भुक्तानी गर्न नसकेकाले कम्पनीको नेटर्वक विस्तार तथा गुणस्तर कायममा गम्भिर बाधा पुगेको कुरा जगजाहेर नै छ ।

• आम उपभोक्ताहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नु पर्ने निरन्तरको दबाबले गर्दा कम्पनीले वैकल्पिक उपायहरु खोजी सेवा निरन्तर प्रदान गर्नु बाध्यात्मक अवस्थाबाट गुज्रिरहेको परिस्थितिमा नेपाल इन्भेटमेन्ट मेगा बैंक लिमिटेडले मिति २०८२।०६।०३ गते हिमालय टाईम्स् राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित लिलाम विक्रीको सूचना बमोजिम यस कम्पनीले शिलबन्दी बोलपत्र फारम खरिद गरी तोकिएको समयमा लिलाम सकार गर्न शिलबन्दी बोलपत्र पेश गरिएको र यस कम्पनीलाई उक्त बैंकबाट प्राप्त पत्र अनुसार यस कम्पनीको बोलपत्र स्वीकार भएको हो ।

• बैंकको धितोमा रहेको दूरसञ्चार उपकरण तथा टावरहरु यस कम्पनीको नेटवर्क विस्तारमा उपयुक्त हुने देखि लिलाम विक्री प्रक्रियामा सहभागि भएको हो र सो बमोजिम बोलपत्र स्वीकृति भएको परिस्थितिमा यस कम्पनीले नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा उक्त दूरसञ्चार उपकरणहरु खरिदका बारेमा जानकारी गराईसकेको छ ।

उल्लेखित लिलाम विक्री प्रक्रियामा सहभागि भएर प्राप्त हुने थप उपकरण तथा टावरहरुका माध्यमबाट विगत लामो समयसम्म हुन नसेको नेटवर्क विस्तार र सुधारका कार्यहरुको संबोधन गर्दै नेपाली उपभोक्ताहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नु यस कम्पनीका उदेश्य रहेको छ । एक जिम्मेवार मोबाइल सेवा प्रदायकका रुपमा आफ्ना उपभोक्ताहरुलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न कम्पनी सधैं प्रतिबद्घ छ ।


कम्पनीको तर्फबाट,

विशाखालक्ष्मी खड्का
कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर
बोधार्थ,
प्रेस काउन्सिल नेपाल, तिलगंगा, काठमाडौं

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।