काठमाडाैं । ग्यासकाे अभाव भइरहेकाे अवस्थामा एउटै गाेदाममा भने ६ हजार बढी ग्यास लुकाएकाे अवस्थामा भेटिएकाे छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा गोदाममा भण्डारण गरी राखिएका ६ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर फेला पारेको जनाएको छ।
विभागका अनुसार श्रीराम ग्यास उद्योग प्रा.लि. को ललितपुर महानगरपालिका–२८, हरिसिद्धिस्थित गोदाममा १४.२ केजी अर्थात फुल सिलिन्डर ग्यास लुकाएर राखिएको अवस्थामा भेटिएको हो।
ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले सिलिन्डर भण्डारण गरिएको ठहर गर्दै विभागले उद्योगलाई उपभोक्ता संरक्षण ऐनअनुसार ३ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।
साथै गोदाममा रहेका ग्यास सिलिन्डरहरू नेपाल आयल निगम को समन्वयमा बजारमा बिक्री–वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
विभागले ग्यासको माग उच्च भएको अवस्थामा कृत्रिम अभाव सिर्जना नगर्न सबै उद्योग तथा वितरकलाई आग्रह गरेको छ। साथै यस्ता अवैध गतिविधि पाइए कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।







