काठमाडौं । कालिमाटीस्थित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको अनियमितताको छानबिनका लागि गठित छानबिन समितिका संयोजक तथा सहकारीका सचिब हरिकृष्ण धेके झण्डै दुई करोड रुपैयाँ ठगीको आरोपित रहेको खुलेको छ ।
छानबिन समितिका संयोजक नै फौजदारी मुद्दा खेपिरहेको परेपछि सहकारी भित्रको छानबिन निष्पक्ष हुने विषयमा सहकारीका सदस्यहरुले प्रश्न उठाउन थालेका छन् ।
हालै भएको निर्वाचनबाट राजन पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । उक्त कार्यसमितिले छानबिन समिति गठन गरे पनि एक जना व्यवस्थापकलाई मात्र कारबाही सिफारिस गरेर कारबाही समेत गरिसकेको छ । तर, २०६८ सालदेखिको अनियमितताको छानबिन हुनुपर्ने माग चर्कदैै गएपछि पुनः अर्को सचिब धेके संयाेजकत्वमा छानबिन समिति बनेको हो ।
जिल्ला अदालत काठमाडौंमा विचारधिन रहेको मुद्दा अनुसार मिरा रौनियारलाई कालिमाटीस्थित तरकारी बजार नजिकैको जग्गा बिक्री गर्ने भनि पटक–पटक गरेर एक करोड साठी लाख सचिव धेके र उनको परिवारले लिएको थियो । तर, जग्गा नामासरी गर्न धेके परिवारले नमानेपछि अदालतको ढोका ढकढकाउन पुगेको पाइएको छ ।

अदालतमा दायर मुद्दामा …अपुग रकम लिई जग्गा मिरा देवी रौनियारलाई पास गर्नुपर्नेमा नगरी रौनियारबाट लिएको एक करोड साठी लाख समेत फिर्ता नगरी तुलसी माया धेके, हरी कृष्ण धेके र हरिचन्द्र धेके समेतको मिलिमतोमा ढाटी झुक्याई ठगी गरेको उल्लेख छ ।
मुद्दापछि सचिव धेके ९ दिन प्रहरी हिरासत र पछि अदालतले मागेको धरौटी बुझाउन नसकेपछि कारागार समेत चलान भएको सरकारी कागजातले पुष्टि गर्छ ।
सचिव धेकेलाई २०८०/६/३० गते पक्राउ गर्न अनुमति दिएको थियो भने प्रहरीले २०८०/८/१५ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई प्रहरीले २०८१/३/१५ गते राती १० बजे पक्राउ गरेको थियो । अनुसन्धानपछि अदालतमा प्रहरीले मुद्दा दर्ता गरेपछि धेकेसँग अदालतले २५ लाख धरौटी माग गरेको थियो । त्यसपछि उनी सुन्धारास्थित काराघार जेल चलान भएका थिए ।
फौजदारी कसुरमा हिरासत हुँदै जेल चलान हुँदा पनि उनी सचिव पदमा नै बहाल थिए । जब की फौजदारी कसुरमा पक्राउपछि अनुसन्धानमा सहयोग पुर्याउन उनलाई सहकारी सञ्चालक समितिले बर्खास्त गर्नुपर्नेमा उल्टै जोगाएको पनि पाइएको छ ।
अहिले उनै धेके दोस्रो पटक सचिव पदमा दोहोरिएका छन् भने सहकारीभित्रको छानबिनको संयोजक पनि उनैलाई तोकिएको छ ।
सहकारीभित्र २०६८ देखि डमी खाता बनाएर हिनामिना गरेको जग्गा किनबेच लगायतमा अनियमितता गरेको प्रश्न उठ्दै आएको छ ।
याे पनि पढ्नुहाेस्:
तरकारी फलफुलमा अनियमितताले बबण्डर, छानबिनको नाममा उठ्यो प्रश्न








