काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेश सरकार गठनसम्बन्धी नेकपा एमाले सँग भएको सहमतिबारे आफ्नो पार्टीको प्राथमिकता सरकार बनाउने वा ढाल्ने नभई प्रदेशसभा जोगाउने र जनहितमा काम गर्ने रहेको बताएका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर प्रदेश सरकार सञ्चालन भइरहेका बेला आफ्नो पार्टीले बाँकी कार्यकालसम्म पनि त्यही सरकार निरन्तर चलोस् भन्ने चाहेको बताए। उनले त्यसका लागि कांग्रेस र एमालेसँग आफूहरूले यही प्रस्ताव राखेको बताएका छन्।
तर कांग्रेस र एमाले एउटै सरकारमा बस्न नसक्ने अवस्था सिर्जना भएपछि प्रदेशसभा विघटन हुन नदिन सरकारमा सहभागी हुने बाध्यात्मक निर्णय लिनुपरेको उनको भनाइ छ। त्यस्तो परिस्थितिमा कांग्रेस वा एमालेमध्ये एकसँग सहकार्य गर्नुपर्ने अवस्था आएपछि पार्टीको बामपन्थी शक्तिसँग सहकार्य गर्ने नीतिअनुसार एमालेसँग सहमति गरिएको बताएका छन्।
श्रेष्ठले अब प्रदेश सरकार गठनको प्रक्रियामा विगतका कमजोरी नदोहोरिने गरी अघि बढ्नुपर्ने भन्दै मुख्यमन्त्री वा मन्त्री बन्नु आफ्नो पार्टीको प्राथमिकता नभएको बताउँदै प्रदेश सरकारको काम प्रदेश र प्रदेशवासीको हितलाई केन्द्रमा राखेर संघीयताको सार्थक कार्यान्वयन गर्नुपर्ने बताए।
उनले सरकारका नीति, कार्यक्रम र निर्णयहरू संविधानले निर्देश गरेको समाजवादउन्मुख समृद्धिको लक्ष्यअनुसार हुनुपर्ने तथा मन्त्रीहरूको जीवनशैली, कार्यशैली र राजनीतिक संस्कृतिसमेत बामपन्थी मूल्य र मान्यताअनुसार हुनुपर्ने धारणा राखे। यस विषयमा कुनै सम्झौता वा हेलचक्याइँ स्वीकार्य नहुने उनको भनाइ छ।





