काठमाडाैं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा कर्फ्यू जारी गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन गरिएको छ ।
कर्फ्यूपछि पनि त्यहाँ आगजनी र तोडफोड भएको छ ।

देवानगञ्ज घटनालाई लिएर सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भएपछि नेपाली सेना परिचालन गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कर्फ्यू जारी भएका स्थानमा सेना परिचालन गरिएको बताए ।

बिहानदेखि कर्फ्यू अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गरिएको हो ।

दुई समुदायबीचमा आइतबार राति तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको थियो । सो क्रममा एकजनाको मृत्यु भएको छ, प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।