आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौँ । आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द हुने भएका छन्।

नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको हाे ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको छ ।

संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।

नेपाल चिकित्सक संघले डा. प्रमोद राम र अन्य स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गर्ने दोषीहरूलाई अविलम्ब पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न माग गरेको छ । यसका साथै वार्ताको क्रममा चिकित्सकहरूको मानमर्दन र दुर्व्यवहार गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत तत्काल कारबाही गर्न संघले राज्यसँग माग गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।