काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासनिक संयन्त्रमा व्यापक हेरफेर गर्दै नौ जना उपसचिवसहित २८ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले विभिन्न मितिमा भएका सरुवाको एकीकृत सूची सार्वजनिक गर्दै स्थानीय तहदेखि केन्द्रीय तहसम्मका कर्मचारीको जिम्मेवारी परिवर्तन गरेको हो।
सार्वजनिक गरिएको सूचीअनुसार सरुवा हुनेमा विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, उपसचिव, शाखा अधिकृत तथा नायब सुब्बासम्मका कर्मचारी समावेश छन्। मन्त्रालयले प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी, जिम्मेवार र परिणाममुखी बनाउने उद्देश्यसहित सरुवा गरिएको जनाएको छ।
सरुवासँगै केही स्थानीय तहले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन् भने केही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको छ। यसलाई प्रशासनिक संयन्त्रमा नयाँ गति दिने प्रयासका रूपमा हेरिएको छ।
सरकारले पछिल्लो समय कर्मचारी व्यवस्थापन, सेवा प्रवाहमा सुधार र प्रशासनिक चुस्तता बढाउने नीति अघि सारेको अवस्थामा गरिएको यो सरुवालाई प्रशासनिक पुनर्संरचनाको निरन्तर कदमका रूपमा पनि विश्लेषण गरिएको छ। अब सरुवा भएका कर्मचारीले नयाँ जिम्मेवारीमा कस्तो कार्यसम्पादन गर्छन् भन्ने विषयलाई प्रशासनिक वृत्तले चासोका साथ हेरेको छ।







