Sunday, August 2, 2026
Home अर्थ बिशेष राष्ट्र बैंकको निर्देशन पालना नगरेपछि प्रभु बैंकका तत्कालीन सिइओ शेरचनलाई ५ लाख...

राष्ट्र बैंकको निर्देशन पालना नगरेपछि प्रभु बैंकका तत्कालीन सिइओ शेरचनलाई ५ लाख जरिवाना

काठमााडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगरेपछि प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन ५ लाख रूपैयाँ नगद जरिवानामा परेका छन् ।

उनलाई केन्द्रीय बैंकबाट जारी निर्देशनहरू उल्लंघन गरेको निष्कर्षसहित जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार प्रभु बैंकले विगतका समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा कर्जासम्बन्धी दिइएका अधिकांश निर्देशन कार्यान्वयन नगरेको, पटक पटक नियामकीय निर्देशन उल्लंघन गरेको तथा पछिल्लो समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन २०८२ मा समेत अघिल्लो निरीक्षणमा औंल्याइएका अधिकांश कैफियत सुधार नगरेको पाइएको थियो।

त्यस्तै, बैंकले एकीकृत निर्देशन बमोजिम कर्जाको वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकमा पेस गरिएको कर्जासम्बन्धी विवरण बैंकको कोर बैंकिङ प्रणालीबाट प्राप्त हुने विवरणसँग नमिलेको पनि जनाइएको छ ।

नियामकीय निकायलाई फरक विवरण बुझाउनु गम्भीर उल्लंघन भएको निष्कर्ष निकाल्दै त्यस बेला बैंकको नेतृत्व गरिरहेका शेरचनलाई व्यक्तिगत रूपमा जरिवाना गरिएको हो। उनी यसअघि बैंकिङ कसुरमा पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) त्यस मुद्दामा अनुसन्धान गरीरहेको छ । हालैमात्र बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छिन् ।

केन्द्रीय बैंकले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ को व्यवस्था उल्लंघन गरेको भन्दै सचेत पनि गराएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।