काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै दोस्रो चरण तथा प्रदेश र सङ्घका निर्वाचनमा समेत यस्तै भूमिका खेल्न निर्देशन दिएका छन ।

प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले दीक्षित हुन लागेका अधिकृतहरुले पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताए ।

उन्नाइस महिनाको निरन्तर तथा अथक प्रयास, दृढ समर्पण, लगन र मिहेनतपश्चात् प्रहरी निरीक्षक तालिम सफलतापूर्वक सम्पन्न गरेकामा दीक्षित भएकाहरुलाई प्रधानमन्त्रीले बधाई दिँदै कार्य क्षेत्र र व्यक्तिगत जीवनमा सदैव सफलताको शुभकामना दिए ।

समग्र राज्यको सुरक्षा र सञ्चालनमा आन्तरिक सुरक्षाको महत्वपूर्ण र गहन जिम्मेवारी सरकारले नेपाल प्रहरीलाई दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रहरी कानुनको आँखा पनि हो, जसले सबै ठाउँमा निगरानी राख्छ भन्ने बताए ।

प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न आवश्यक पर्ने ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि हालका दिनमा प्रहरी निरीक्षक आधारभूत तालिमलाई आधुनिकीकरण तथा अन्तर्राष्ट्रिय रुपमा समेत शैक्षिक पहिचान दिलाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा पिजी डिप्लोमा कार्यक्रम सञ्चालन गरेको जानकारी पाउँदा आफूलाई खुसी लागेको प्रधानमन्त्रीले बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।