काठमाडौं । तराइबाट काठमाडाैं जाेड्ने प्रमुख लाइफलाइन मध्येको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिएर यातायात अवरुद्ध भएपछि उपत्यकामा खाना पकाउने ग्यासको आपूर्तिमा समस्या हुने देखिएकाे छ ।
भिडियाे हेर्नहाेस्
ग्यास बोकेका ठूला सवारीसाधन वैकल्पिक सडक हुँदै ल्याउन कठिन हुने भएकाले नेपाल आयल निगमले ग्यास कम्पनीका खाली सिलिण्डर भरेर काठमाडौं ल्याउने तयारी गरेको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सिलिण्डर नै बाहिर लगेर भर्ने र भरिएका सिलिण्डर काठमाडौं ल्याउने तयारी भइरहेको हो ।
उनका अनुसार ग्यास ढुवानीका लागि ठूला सवारीसाधन सञ्चालन गर्न कठिन भएपनि इन्धन बोकेका ट्यांकरलाई भने वैकल्पिक सडकमार्गबाट काठमाडौं ल्याउन थालिएको छ ।
प्रवक्ता ठाकुरले भने, ‘ग्यासका गाडी ल्याउन कठिन भएकाले कम्पनीका सिलिण्डर नै लगेर भरेर ल्याउने तयारी भइरहेको छ । इन्धनका गाडी भने वैकल्पिक बाटोबाट ल्याउन थालिसकेका छौं ।’ उनले वैकल्पिक सडकबाट पनि पेट्रोल डिजेल ल्याउन थालिसकेकाले इन्धनको कुनै पनि समस्या नहुने पनि दाबी गरेका छन् ।
कृष्णभीरमा सडक भासिएपछि काठमाडौं आउने–जाने सवारीसाधनको आवागमन प्रभावित भएको छ । यसले अत्यावश्यक वस्तुको आपूर्तिमा समेत असर पार्न सक्ने देखिएको छ ।




