काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई-२० ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार, विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्।
दूतावासका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सामग्री हस्तान्तरण गरिएको छ। विमानमा कुल ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याइएको छ।
विपद् प्रभावितहरूका लागि ल्याइएका सामग्रीहरूमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड/बिस्कुट र प्राथमिक उपचार किट रहेका छन् ।




