काठमाडाैं । प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण माथिल्लो त्रिशूली– ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको छ ।
अविरल वर्षा र जोखिमपूर्ण परिस्थितिका बाबजुद नेपाली सेनासहितको उद्धार टोली प्रभावित क्षेत्रमा रातभर खटिएर खोज तथा उद्धारमा जुटेको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ ।
रातको समयमा उद्धार कार्यलाई सहज बनाउन घटनास्थलमा उच्च क्षमताका फ्लडलाइट जडान गरिएको छ । प्रतिकूल मौसमका कारण थप जोखिम उत्पन्न हुन सक्ने अवस्थाबीच उद्धार टोलीले कार्यस्थलमा निरन्तर काम गरिरहेको सचिवालयले जनाएको छ ।
घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउन जेसीबी तथा भारी एक्स्क्याभेटर प्रयोग भइरहेका छन् । ती उपकरणमार्फत अवरुद्ध बाटो खुलाउने र पहिरो तथा माटोले पुरिएका हुन सक्ने स्थानसम्म पुग्ने प्रयास भइरहेको छ ।




