काठमाडौं, १७ जेठ
सरकारले ९ असारका लागि तय गरेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन १४ असारमा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषदको बुधबार बिहान बसेको बैठकले १५ जेठका दिन ९ असारका लागि तोकेको निर्वाचन मिति पुनः १४ असारका लागि तय गरेको हो ।
सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार मन्त्री राम कार्कीले ९ असारमा मुस्लिम समुदायको महत्वपूर्ण चाड रमजान परेकाले निर्वाचनको मिति १४ असारमा गर्ने निर्णय भएको जानकारी दिए । निर्वाचन आयोगको परामर्शकै आधारमा सरकारले निर्वाचन मिति तय गरेको पनि उनले बताए ।
सरकारले यसअघि ३१ वैशाखका लागि देशभर स्थानीय तहको निर्वाचन मिति तोकेको थियो । तर, सरकारले प्रदेश–१, २, ५ र ७ मा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गर्दै ३१ जेठका लागि मिति तोकेको थियो ।

प्रदेश–३, ४ र ६ मा भने ३१ वैशाखमा निर्वाचन सम्पन्न भइसकेको छ । दोस्रो चरणको निर्वाचन मिति आउन १५ दिनअगाडि सोमबार सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा आउने वातावरण तय गर्न भन्दै ९ असारका लागि मिति तय गरेको थियो । मिति सारेको दुई दिनमा नै सरकारले मुस्लिम समुदायको मुख्य पर्व रमजान (इदउल–फित्र) पर्ने भएकाले पाँच दिन निर्वाचन मिति पछाडी धकेल्दै १४ असारका लागि मिति तोकेको हो ।

यसअघि, मुस्लिम समुदायका प्रतिनिधिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर असार ९ गतेका दिन मुस्लिम समुदायको मुख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पुनर्विचार गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।
सोही क्रममा प्रधानमन्त्री दाहालले निर्वाचन आयोग र दलहरूसँग छलफल गरेर मागको सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसलगत्तै प्रधानमन्त्री दाहालले मंगलबार नै निर्वाचन आयोगसँग परामर्श गरेका थिए भने आयोगले १३ गतेसम्म मुस्लिम समुदायको चाड पर्ने तथा १५ गते धान दिवस भएको र त्यसपछि वर्षा सुरु हुने भएकाले १४ गते निर्वाचन गर्दा उचित हुने सुझाव दिएको थियो । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार आह्वान गरेको सर्वदलिय बैठकमा पनि मिति सार्ने विषयमा छलफल भएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित रहेको उक्त बैठकमा पनि मिति सार्ने विषयमा दलहरुबिच सहमति जुटेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।