काठमाडौँ, २ वैशाख
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले बृहत् शान्ति सम्झौता अनुरुप जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग गरेको छ ।
माओवादीले हालै सर्वोच्च अदालतद्वारा पूर्व सभासद् बालकृष्ण ढुङ्गेलको जनयुद्धकालीन मुद्दा ब्युँझाएर फैसलासमेत गरी सात दिने पक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति व्यक्त गर्दै बृहत् शान्ति सम्झौताअनुसार मुद्दाहरु तत्काल खारेज गर्न माग गरेको छ । ‘हालै सर्वोच्च अदालतद्वारा पूर्व सभासद क. बालकृष्ण ढुंगेलको जनयुद्धकालीन मुद्दा ब्युँझाएर फैसला समेत गरी सातदिने पक्राउपुर्जी जारीगरिएकोमा हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ ।’ पार्टी अध्यक्ष वैद्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी बृहत शान्ति संझौता अनुरुप जनयुद्धकालीन मुद्दाहरुको अविलम्व खारेजी र बाँकी रहन गएका जनयुद्धकालीन मुद्दाहरुबारे उक्त आयोगहरु मार्फत् मेलमिलापको व्यवस्था गर्नका लागि नेपाल सरकारसित सशक्त तथा जोडदार माग गर्दछ ।’
वैद्य माओवादीले बृहत शान्ति संझौता अनुसार जनयुद्धकालीन मुद्दाहरु राज्यको तर्फबाट तत्काल फिर्ता लिइनु पर्नेमा झण्डै दश वर्ष बितिसक्दा पनि सो नभएको र सत्यनिरुपण मेल मिलाप गर्नका लागि भनी दुई ओटा आयोगको कानुनी व्यवस्था गरिएकोमा त्यस अनुसार पनि नगरिएको यथार्थता स्पष्ट रहेको समेत जनाएको छ ।
अध्यक्ष वैद्यले बृहत् शान्ति संझौताको गंभीर उल्लघन हुँदा पनि त्यस प्रति राज्य मूकदर्शक रहनु र त्यसवारे कुनै पनि पहल नगरिनु दुःखद विडम्वनाको विषय भएको समेत जनाएका छन् ।
Comments