काठमाडौं ३ चैत
सरकारले स्थानीय तहमा कर्मचारी खटाउने अधिकार प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाइ प्रत्योजन गरेको छ ।
स्थानीय निकाय भंग भएसँगै स्थानीय तह गाउँ तथा नगरपालिका गठन भएपछि कर्मचारी व्यवस्थापनका लागि तत्काल कर्मचारी खटाउने जिम्मा सिडिओलाई दिइएको हो ।
मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले जिल्लामा कार्यरत कर्मचारीलाई तत्कालका लागि खटाउन प्रमुख जिल्ला अधिकारीलाई थप अधिकार प्रत्यायोजन गरेको हो ।
जिल्लामा कार्यरत नेपाल प्रशासन, सामान्य प्रशासन, लेखा, इन्जिनियरिङ, शिक्षा र विविध सेवाका राजपत्र अनङ्कित कर्मचारीलाई नगरपालिका, गाउँपालिका र अन्तर्गतका वडा कार्यालयमा काम गर्न खटाउने अधिकार प्रजिअलाई प्रदान गरेको सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
सरकारले विदेशी लगानीसम्बन्धी कामको समन्वयका लागि एक समिति गठन पनि गरेको छ । विदेशी लगानीसम्बन्धी कामको समन्वय र ताकेता गर्न उद्योगमन्त्री नवीन्द्रराज जोशीको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका सचिव सम्मिलित समिति गठन गरेको हो ।
बैठकले नेपालमा अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनी केन्द्र निर्माण गर्नका लागि शीघ्र काम थाल्न वाणिज्य मन्त्रालयलाई निर्देशन पनि दिइएको छ । मन्त्रीपरिषद बैठकले विश्व बैंक अन्तर्गत अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १० अर्ब ७० करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
Comments