काठमाडौँ, १ चैत । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकभर नै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संरचना खडा भएर आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा गएको जनाएको छ ।
मन्त्रालय मातहत रहेका २१७ नगरपालिकामा यसअघि नै कार्यकारी अधिकृत रहिसकेकाले र बाँकी रहेका ५२७ मा भने आजदेखि औपचारिक रुपमा काम कारबाही सुरु भएको छ । सरकारले कुल ७४४ स्थानीय तहको संरचना खडा गरेर नयाँ व्यवस्थासहितको प्रक्रिया सुरु गरेको हो ।
जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको र नयाँ तोकिएका संरचनामा पनि वरिष्ठ गाविस सचिवलाई निमित्त कार्यकारीको जिम्मा दिएर काम सुरु गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार धेरैजसो जिल्लामा तोकिएका कार्यकारी अधिकृत पुगिसेकेको र केही दुर्गम क्षेत्रमा भने जाने प्रक्रियामा रहेका छन् । सामान्य प्रशासन मन्त्रालयले २७० जना नयाँ शाखा अधिकृतलाई नयाँ गाउँपालिकामा कार्यकारीको भूमिकामा रहने गरी पठाएको छ । यस्तै उपसचिवमा बढुवा भएका ६४ जनालाई पनि सामान्यले पठाएको उनले जानकारी दिए । केही मन्त्रालय मातहत रहेका शाखा अधिकृतलाई पनि गाउँपालिकामा पठाइएको छ ।
जनताको काम एक दिन पनि प्रभावित नहोस् र सेवा पु¥याउने विषयमा कुनै पनि झन्झट नहोस् भन्नेतर्फ मन्त्रालयले विशेष ध्यान दिएको र आवश्यक निर्देशन दिइएको उनको भनाइ छ । केही जिल्लामा नागरिकता र राहदानीका लागि सिफारिस लिन प्रक्रियामा समस्या आएको भन्दै गुनासो आएपछि मन्त्रालयले त्यसतर्फ विशेष चनाखो भई काम गर्न र कुनै पनि सेवाग्राहीलाई मर्कामा नपार्न समेत सम्बन्धित गाउँपालिकालाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ल आजै ललितपुर महानगरपालिकाको कार्यालय उद्घाटन गर्नुभयो । यस्तै विभिन्न जिल्लामा समेत औपचारिक रुपमा कार्यालय सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।