काठमाडौं ३० फागुन
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी १० चैतबाट उत्तरी छिमेकी राष्ट्र चीनको दुई दिने भ्रमण गर्ने भएका छन् ।
११ चैतमा चीनमा हुने बोआओ फोरममा सहभागी हुन प्रधानमन्त्री दाहाल चीन जान लागेका हुन् ।
प्रधानमन्त्री दाहालको नीजि सचिवालयले बोआओ फोरममा सहभागी हुन प्रधानमन्त्री चीन जाने तयारी भईरहेको जानकारी दियो।
स्रोतका अनुसार चिनियाँ दुतावासका अधिकारीहरुले मार्च २३ र २४ का लागि प्रधानमन्त्रीको चीन भ्रमण मिति समेत तय गरिसकेक ा छन् ।
प्रधानमन्त्री दाहालले चीनमा रहँदा फोरममा सहभागीसँगै बेइजिङ पुगेर उच्चस्तरीय भेटघाट गर्ने तयारी भईरहेको छ । बेइजिङमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिसँग भेटघाट गर्ने र केही सम्झौताहरु गर्ने प्रधानमन्त्रीको योजना रहेको छ । यद्यपी, उच्चस्तरीय भेटघाटको अन्तिम टुंगो भने लाग्न बाँकी रहेको बताइएको छ । प्रधानमन्त्रीको चिनियाँ उच्च अधिकारीसँगको भेटमा वान रोड वान बेल्ट (ओबीओआर) को विषयमा छलफल हुने बताइएको छ । ओबीओआर परियोजना समितिको ४२ सदस्यीय चिनियाँ टोलीले यसअघि नै नेपाल भ्रमण गरेर फर्किसकेको छ सो टोलीले प्रधानमन्त्रीलगायत विभिन्न उच्चस्तरीय भेटवार्ता गरेको थियो ।
चीनको एसिया मामिला हेर्ने प्रमुखको नेतृत्वको एक टोलीे अहिले नेपाल भ्रमणमा रहेको छ । सो टोलिले विभिन्न राजनीतिक भेटघाट गरिरहेको छ । 
यता, प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा नेपाल पक्षले केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गको डीपीआर, इन्धन भण्डारण, व्यापार तथा पारवहन सन्धीको प्रोटोकलमा हस्ताक्षर लगायत विषयको तयारी गरिरहेको स्रोतले बताएको छ ।
नेपाल र चीनबिचको द्धिपक्षिय सचिव स्तरीय संयन्त्र बैठक पनि चैत पहिलो साता बस्दैछ । परराष्ट्र मन्त्रालयका अनुसार सचिवस्तरीय द्धिपक्षीय वार्तामा दुई देशबिच यसअघि भएका सम्झौता कार्यान्वयनको अवस्था तथा समिक्षा र नयाँ सम्झौताको वातावरण तय गर्ने विषयमा वार्ता केन्द्रित हुनेछ । बैठकले दुई देशबिचको उच्च तहको राजनीतिक भ्रमणको तयारीका विषयमा पनि छलफल गर्ने बताइएको छ ।
यस्तै, नेपालका रक्षामन्त्रीको निमन्त्रणमा चीनका रक्षा मन्त्री चैत्र दोस्रो साता नेपाल आउने कार्यक्रम समेत यसअघि नै तय भईसकेको छ । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा लामो समयदेखि चर्चा हुँदै आएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषयमा सुरक्षा संवेदनशिलता लगायत विषयले ठोस पाउने अनुमान समेत गरिएको छ ।
यता, प्रधानमन्त्री दाहाल दोस्रो पटक प्रधानमन्त्री बनेपछि उनको यो पहिलो पटक चीन भ्रमण हुन लागेको हो । यसअघि भारतको गोवामा सम्पन्न ब्रिक्स राष्ट्रहरुको सम्मेलनमा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भेटवार्ता भएको थियो ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।