मेची महाकाली अभियान छाडेर ओलीले भेटे प्रचण्ड

काठमाडौं ३० फागुन
मेची–महाकाली अभियानका क्रममा राजधानी बाहिर रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियान नै छाडेर सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
मेची–महाकाली अभियानमा राजधानी बाहिर रहेका ओली आकस्मिक रुपमा काठमाडौं फर्किएर प्रचण्डसाग भेट गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच मात्रै झण्डै एक घण्टा भेटवार्ता भएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दुई नेताबिच पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधन तथा निर्वाचनका विषयमा छलफल भएको र छलफल सकरात्मक भएको बताए । ‘ समसामयिक विषय, संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत विषयहरुमा उहाँहरुबीच छलफल भयो,’ आचार्यले भने, ‘छलफल सकरात्मक भएको  छ ।’
एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत जितपुरको कार्यक्रममा ओलीसँग होली मनाउन आग्रह गर्दै एमाले कार्यकर्ताले आफ्ना समर्थकलाई बोलाएका थिए । तर, ओली एक्कासी काठमाडौं आएसँगै ओलीको अनुपस्थिति रहेपछि एमाले नेताहरुले अब चुनावपछि ओलीलाई ल्याउने प्रतिवद्धता जनाउँदै समर्थकहरुसँग माफी मागेका थिए ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।