काठमाडौं ३० फागुन
प्रधानमन्त्री पुष्पकमल दाहालले ईतिहासमा पहिलोचोटी विकास निर्माण र अधिकार गाउँमा पुगेको बताएका छन् ।
स्थानीय तह पुनरसंरचना आयोगको अन्तिम प्रतिवेदन ग्रहण गर्ने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई इतिहास र जनताले दिएको गम्भिर र महत्वपूर्ण जिम्मेवारी पूरा गरेर पहिलो चोटी स्थानीय तहमै विकास र अधिकार पु¥याएको बताए ।
प्रधानमन्त्री दाहालले यसले जनतामा उत्साह र आशा जागेको बताउँदै निर्वाचनले अधिकार व्यवहारिक रुपमा कार्यान्वयन हुने समेत बताए । ‘यही बीचमै स्थानीय तहको निर्वाचनको घोषणा गरेर सरकार निर्वाचन सम्पन्न गराउन लागिपरेको छ’ उनले भने, ‘यसले जनताले पाएको अधिकार व्यावहारिक कार्यान्वयनमा जानेछ ।’
प्रधानमन्त्रीले स्थानीय तह पुनरसंरचना जस्तो गम्भिर र जटिल विषयलाई सम्पन्न गर्न खट्ने आयोगका अध्यक्ष, पदाधिकारी र विशेषगरी मेहनेत गरेर खट्ने पूर्व स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई धन्यवाद दिए । अब स्थानीय तह कार्यान्वयनमा लैजान गम्भीर भएर मेहनेतका साथ लाग्न उनले सबैलाई आग्रह गरे ।
आयोगको प्रतिवेदन ग्रहण गर्दै उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहलाई यति धेरै अधिकार दिइएको दक्षिण एसियामै उत्कृष्ट भएको बताए । ‘स्थानीय तहलाई यति धेरै अधिकार दिइएको छ कि यो दक्षिण एसियामै उत्कृष्ट छ भन्दा हामीले कत्ति हिनताबोध गर्नुपर्दैन’ उनले भने, ‘विश्वमा पनि नमुनायोग्य मध्येमा हाम्रो स्थानीय तह पर्छ ।’
अन्तिम प्रतिवेदन बुझाउँदै स्थानीय तह पुनरसंरचना आयोगका संयोजक बालानन्द पौडेलले स्थानीय तह पुनरसंरचनाको कुरा निकै जटिल र गम्भिर भए पनि समयमै सम्पन्न गरिएको बताए । उनले अब स्थानीय तहको निर्वाचन भइसकेपछि कतिपय वार्ड र त्यहाँ हुने विशेष स्वायत्त वा संरक्षित क्षेत्रको विषयमा सरकारले स्थानीय प्रतिनिधिसंग छलफल गरेर टुंग्याउनुपर्ने सुझाव राखे । कतिपय अधिकारहरु संघ प्रदेश र स्थानीय तहमा ओभरल्याप भएकाले त्यसलाई चाँडै टुंग्याउन पनि उहाँको सुझाव छ । उहाँले माथि रहेका कर्मचारीलाई स्थानीय तह र प्रदेशमा पठाउन सुझाव राखिएको बताए ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।