खोटाङ १९ फागुन । खोटाङका सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन । जिल्लाका ६ वटा क्याम्पसमध्ये खोटाङ क्याम्पस खोटाङबजार, रावा क्याम्पस खार्पा, सिमपानी क्याम्पस सिमपानी, हलेसी क्याम्पस हलेसी र साकेला क्याम्पस रतन्छामा स्ववियु निर्वाचन हुन नसकेको हो ।
दिक्तेल बहुमुखी क्याम्पसमा भने वैसाख ४ गते निर्वाचनको तयारी गरिएको छ । विद्यार्थी संगठनको द्धन्द्धका कारण दुई क्याम्पसमा ताला लागेको छ ।
क्याम्पस प्रशासनले मनोमानी ढंगले निर्वाचन प्रकृया अघि बढाएको आरोप लगाउँदै संघीय समाजवादी विद्यार्थी फोरमले मंगलबार खोटाङ क्याम्पस खोटाङबजारमा ताला लगाउँदा निर्वाचन प्रकृया विवादित बनेको छ । यस्तै, निर्वाचन समितिको प्रकृयामाथि विरोध जनाउँदै नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र समाजवादी विद्यार्थी फोरमले सिमपानी क्याम्पसमा मंगलबार ताला लगाउँदा निर्वाचन प्रकृया रोकिएको छ ।
विद्यार्थी संगठनबिचको द्धन्द्धका कारण खार्पा क्याम्पस खार्पाका निर्वाचन समितिले मंगलबार संयुक्त राजीनामा दिएपछि क्याम्पस प्रशासनले अर्को व्यवस्था नभएसम्मका लागि निर्वाचन सम्बन्धीका काम रोकेको जनाएको छ । साकेला क्याम्पस रतन्छा र हलेसी क्याम्पस हलेसीमा भने स्ववियु निर्वाचन सम्बन्धी प्रकृया अघि नै बढाइएको छैन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।