बुधबार पार्टी मुख्यालय धुम्वाराहीमा भएको एमाले पोलिटब्यूरो बैठकको शुरुमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति र तीन दलका शीर्ष नेताबीच भएको वार्ताका बारेमा जानकारी गराएलगत्तै बरिष्ठ नेता माधव नेपालले मैनालीको विषय प्रवेश गराएका थिए ।
मैनालीले आफ्नो पुस्तकमा हुँदै नभएका र मनगढन्ते कुराहरु समावेश गरी मनको कुण्ठा पोखेको आरोप नेताहरुले लगाए ।
मैनालीले नियोजित रुपमा पार्टीका नेताहरु विरुद्ध द्वेष पोख्ने काम गरेको भन्दै बैठकमा सहभागी नेताहरूले गम्भीर आपत्ति जनाएका छन् । एमाले स्रोतका अनुसार मैनालीले लगाएका आरोपको सार्वजनिक रुपमा खण्डन गरी पार्टीको विधान अनुसार मैनाली माथि अनुशासनको कारवाही गर्ने निर्णय एमाले नेताहरुले गरेका छन् ।
राधाकृष्ण मैनाली नेकपा मालेका संस्थापक नेता हुन् भने चर्चित झापा विद्रोहका नेता समेत हुन । राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन सञ्चालन गरेको बखत मन्त्री बनेका उनी २०७० सालमा माओवादीमा प्रवेश गरेका थिए । माओवादीमा प्रवेश गरे पनि निस्क्रीय बनेका मैनाली गत बर्ष पुन एमाले मै फर्किएका थिए ।








