काठमाडौं, २ फागुन । सदस्यता चयनको विषयमा असन्तुष्टि जनाउँदै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । 
सोमबार युनियनले सञ्चारग्राम तिलगंगा स्थित पत्रकार महासंघको कार्यालयमा सदस्यता चयनको विषयमा असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो । 
प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पत्रकार महासंघको नेतृत्वले मनोमानी ढंगले सदस्यता बाँढेर विधि र विधानलाई लत्याएकाले तालाबन्दि गरिएको जानकारी दिए । 
यसअघि सदस्यता चयनको विषयमा असन्तुष्टि जनाउँदै युनियनका विभिन्न शाखाहरुले महासंघको जिल्ला शाखामा तालाबन्दी गर्दै आएका थिए । युनियनले सदस्यता वितरणको क्रममा महासंघल गैरनेपालीदेखि गैरपत्रकारसम्मलाई सदस्यता दिएको, महासंघको विधी र प्रक्रियालाई लत्याउँदै कुनै दल विशेषका कार्यकर्ताहरुलाई समेत सदस्यता वितरण गरेको लगायतको आरोप लगाएको छ । 
युनियनले महासंघको ४० जिल्लामा गरिएको नयाँ सदस्यता वितरण र नवीकरणमा समेत असहमति जनाएको छ । ती जिल्लाका प्रतिनिधिहरुको नामावली नसच्याएसम्म उक्त सूची स्वीकारै गर्न नसक्ने अडान युनियनको छ । सोमबार प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तीमा केन्द्रबाट नै महासंघको विधान विपरितका ३ हजार भन्दा बढी पत्रकारहरुलाई महासंघको सदस्यता दिईएको आरोप लगाईएको छ । महासंघ आफैंले बनाएको कार्यविधिलाई समेत आफैंले लत्याएर महासंघले अन्य पेशामा आवद्ध रहेकाहरुलाई समेत सदस्यता दिएको विज्ञप्तीमा भनिएको छ ।
युनियनले यस अघि पनि विज्ञप्ती निकालेर देशभर देखिएका सदस्यताका विवादका विषयमा गम्भिर बन्न महाँसंघ नेतृत्वलाई आग्रह गरेको थियो । महासंघका कार्यसमितिमा रहेका केही सदस्यहरुले समेत आफ्नै नेतृत्वले मनोमानी ढंगले सदस्यता छनौट गरेको र आफुहरुलाई जानकारीसम्म नदिएको भन्दै विज्ञप्ती निकालेर नेतृत्वको विरोध गरेका थिए ।  तालाबन्दी गर्न युनियन आबद्ध दुई दर्जन बढी पत्रकार महासंघको केन्द्रिय कार्यालय पुगेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।