निजगढ १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फास्ट ट्रयाक आफ्नै हातबाट शिलान्यास हुने बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) को स्थलगत निरीक्षणपछि निजगढमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘फास्ट ट्रयाकबारे केही अन्यौल थिए । फास्ट ट्रयाक नेपालले नै बनाउने निर्णय गरिएको छ । फास्ट ट्रयाकको मोडालिटी निर्माण गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा समिति बनाइएको छ । समितिलाई फास्ट ट्रयाकको मोडालिटी र आर्थिक व्यवस्थापनबारे सुझाव दिन भनिएको छ । समितिले काम गरिरहेको छ । एक हप्ताभित्र समितिले प्रतिवेदन बुझाउने छ र सरकारले निर्माण कार्यलाई अगाडि बढाउने छ । यो आयोजना मेरै कार्यकालमा मेरै हातबाट शिलान्यास हुन्छ ।’

कार्यक्रममा प्रधानमन्त्रीले निजगढ बिमानस्थलको कामलाई तिब्रता दिइने बताए । ‘निजगढ बिमानस्थल क्षेत्रभित्र पर्ने बासिन्दाको बैकल्पिक बसोबास र व्यवस्थापन गर्न सरकार गम्भीर छ । चार किल्लाभित्रको जग्गा अधिग्रहणका लागि प्रतिवेदन पेश गर्ने समिति बनिसकेका छन् । जनताले उठाएका जायज माग र मुद्दाहरुको सम्बोधन गरेर हामी बिमानस्थलको कामलाई थप तिब्रता दिनेछौं ।’ उनले भने ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।