कानुनमन्त्रीको प्रश्न- ‘विधेयक तह भनेर पारित भइसक्याे, निकायको निर्वाचन भनेर किन अल्झिनु ?’

काठमाडौं २० माघ

सरकारले निर्वाचन आयोगलाई चुनावको तयारी थाल्न अनुरोध गरेपनि चुनाव स्थानीय निकायको गर्ने कि तहको गर्ने भन्ने तोकेको छैन ।
मन्त्रीपरिषद बैठकले निर्वाचन निकायको गर्ने कि तहको गर्ने भन्ने नतोक्दा केही अन्योल समेत देखिनु स्वभाविक नै छ ।
तर, कानुनमन्त्री अजयशंकर नायकले अब निकाय कि तह भनेर अल्झिनै नपर्ने बताएका छन् । मन्त्री नायकले निर्वाचन सम्बन्धी विधेयक नै तह भनेर पारित भईसकेको र सोही विधेयक अन्तर्गत निर्वाचन हुने भएकाले तह कि निर्वाचन भनेर विवाद गरिरहनु पर्ने विषय नभएको बताए ।
‘सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी थाल्न अनुरोध गरेको छ, निकाय कि तह भनिएको छैन,’ मन्त्री नायकले भने, ‘निर्वाचन विधेयक नै पारित भईसकेकाले र सोही विधेयकको आधारमा चुनाव हुने भएकाले अब निकायको होइन, स्वतः तहको निर्वाचन हुन्छ, यसमा अल्झिरहन नै पर्दैन ।’
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तहकै निर्वाचन गर्नुपर्ने पक्षमा रहेपनि नेपाली कांग्रेसले स्थानीय निकायको चुनावमा जोड दिदै आएको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।