खोटाङ, १६ पुस । नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा पूर्व रक्षामन्त्री रामबहादुर थापा (बादल) ले नेकपा एमाले संघीयताको पक्षमा नरहेको जिकिर गरेका छन् ।

माओवादी केन्द्रको भातृ संगठन किराती राष्ट्रिय मुक्ती मोर्चाको खोटाङको दिक्तेलमा शनिबार आयोजित चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संघीयताको विपक्षमा रहेका एमालेले आफ्नो पार्टीभित्र पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाइदिए हुन्छ भनेर पटकपटक छलफल चलाइरहेको बताए ।
दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बादलले जनताको बलिदानीबाट प्राप्त अधिकारलाई स्थापित गर्न माओवादीले सरकार, सदन र सडकबाट संघीयता र स्वयत्तताको आन्दोलन चलाइ रहेको बताए । “देशमा अहिले पनि शान्ति स्थापित हुन सकेको छैन ।” उनले भने, “जनयुद्धसित सम्बन्धित, शान्तिसित सम्बन्धित कैयन प्रश्नहरु अझैपनि हल भएका छैनन् । हामी सरकार, सदन र सडकबाट दबाब दिएर भएपनि स्थापित गराएर छाड्छौं ।”
नेता बादलले राज्य सत्तामा अहिलेपनि प्रतिक्रियावादी वर्ग र एकाधिकारवादी वर्गकै हावी भएकाले आदिवासीहरु गरीब भएको बताए । “राज्य सत्तामा मै खाऔँ, मै लाऔँ, आफै मात्र संबृद्ध होऔं भन्ने चरित्र अझै कायमै छ ।” उनले भने, “त्यो न्याय र अग्रस्थान पाउने नीति र रणनीति नेपाली जनतालाई चाहिएको छ । त्यो माओवादीले पूरा गरेर छाड्ने अठोट लिएको छ ।” 
उत्पिडन, दमनमा परेका र गरिबीको जाँतोमुनि पिसिरहेका जनता मुक्तीका लागि लामो समयदेखि संघर्ष गर्दै आएको स्मरणसमेत गर्नुभयो । “जनतालाई उनीहरुको हातमा राज्य सत्ता दिइनुपर्छ ।” उनले भने, “राज्य व्यवस्थामा उत्पीडित जाती, लिङ्ग, धर्मको शासन गर्ने राजनीतिक अधिकार नभएसम्म देश विकास हुन सक्दैन ।”
पार्टी केन्द्रीय कार्यालय समितिका वरिष्ठ नेतासमेत रहेका उनले अहिलेको संविधानमा संघीयता र संघीय व्यवस्था उल्लेख भए पनि लजनताले चाहेको भन्दा भिन्न खालको संघीय व्यवस्था भएको दाबी गरे । “अहिलेको संघीयता तथा स्वयत्तता पूर्ण छैन ।” उनले भने, “आंसिक संघीयतालाई समेत केही पार्टीहरु खतम पार्न चाहिरहेका छन् तर, हाम्रो पार्टी त्यो अधुरो संघीयतालाई पूर्णता दिन चाहन्छ ।”
संविधानलाई संशोधन गरेर संघीयताको आन्दोलनलाई पूर्णता दिएर सबैलाई एकताबद्ध गर्न माओवादी गम्भीर भएर लागी परेको बताए । जनयुद्धका उपलब्धीलाई स्थापित गर्दै  संविधानलाई कार्यान्वयन गर्न र सदनमा दर्ता भएका निर्वाचन ऐन पारित गर्ने पक्षमा माओवादी पार्टी रहेको स्पस्ट पारे । 
कार्यक्रममा पोलिट ब्युरो सदस्यहरु गोपाल किराती, सुरेश आलेमगर, लगायत केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ । देशैभरका किरातीहरु सहभागी कार्यक्रममा किरात जन साँस्कृतिक परिवारका कलाकारले साँगीतिक प्रस्तुती गरेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।